२०८१ जेठ ४ , शुक्रवार

स्थानीय तह निर्वाचनका लागि आजदेखि मतदाता नामावलीमा दाबी विरोध

सुनाखरी न्युज/ काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ ।

 

नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी दिनुभएको हो ।

 

अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् । यसैबीच आसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिनुभयो ।

 

स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलका निवेदनमाथि जाँचबुझ भइरहेको आयोगले जनाएको छ । निर्वाचनमा सहभागी हुने दलहरुको नाम यही फागुन २६ गतेभित्र प्रकाशन गरिने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसैगरी स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नामावली प्राप्त भई अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।