२०८१ बैशाख ११ , मंगलबार

‘सभामुखविरुद्ध भ्रम फैलाइयो’

सुनाखरी न्युज/ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उहाँका प्रेस विज्ञले प्रेस नोट जारी गर्नुभएको छ ।

 

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ । ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ,’ प्रेस नोटमा भनिएको छ, ‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।’

 

एमालेले एमसीसीलगायतका विषयमा सभामुखले अबरोध गरेको आरोप लगाएको थियो । न्यौपानेले सभामुखले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न चुनौती दिनुभएको छ । ‘आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।