२०८० चैत्र १६ , शुक्रवार

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

सुनाखरी न्युज/ काठमाडौं । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।

 

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन । मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो ।

 

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो । आज बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

 

विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो ।