२०८१ जेठ ५ , शनिवार

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

सुनाखरी न्युज/  एजेन्सी । युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ ।

 

स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन् । ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषदमा आपतकालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका छन् । नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो । रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन् । अमेरिका र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन् ।

 

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा तटस्थ देखिएका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा मत दिए पनि दक्षिणी छिमेकी भारतले सहभागिता जनाएन । उत्तरी छिमेकी चीनले युक्रेनको विपक्षमा मतदान गरेको छ । परराष्ट्र मन्त्रालयले गतसाता एक विज्ञप्ति जारी गरी युक्रेनमा रुसको हस्तक्षेपको विरोध गरिसकेको छ ।

 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४९ औँ सत्र सोमबार जेनेभामा शुरु भएको हो । परिषद्का ४७ सदस्य मुलुकमध्ये २९ देशले युक्रेनमा रुसी सैन्य आक्रमणको निन्दा गर्दै आपत्कालीन बैठक माग गरेपछि अब परिषद् बिहीबार बस्ने भएको छ । यसअघि युक्रेनले आफूमाथि रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषदमा एक आपतकालीन बैठक आयोजना हुनुपर्ने माग राखेपछि त्यसमा मतदान भएको हो । एजेन्सी