२०८१ जेठ ६ , आइतवार

रुसी आक्रमणमा एक भारतीय विद्यार्थीको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

युक्रेनमा भएको रुसी आक्रमणमा परी एक जना भारतीय विद्यार्थीको ज्यान गएको छ । युक्रेनको खार्किभमा मंगलबार बिहान भएको रुसी बमबारीमा कर्नाटकका २० वर्षीय नवीन शेखरप्पा ग्यानागौदरको ज्यान गएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

 

उनी खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा चौँथो वर्षमा पढ्थे । किराना पसलको अगाडि लामबद्ध भएका बेला भएको रुसी आक्रमणमा उनको मृत्यु भएको उनीसँग सँगै होस्टेलमा बस्ने श्रीधरन गोपालकृष्ननले बताए । नवीनको शवको बारेमा आफूहरूलाई कुनै सूचना नभएको उनको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दर्जनौँको मृत्यु भएको खार्किभको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।

 

खार्किभका गभर्नरले आवासीय क्षेत्रमा बमबारी भएको बताएका थिए । युक्रेनमाथि रुसी आक्रमणको पहिलो पाँच दिनमा ५,७०० रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । यद्यपि, स्वतन्त्र पुष्टि हुन सकेको छैन । यस्तै, उत्तर–पूर्वी सहर ओख्तिर्काको एक सैन्य एकाइमा भएको आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु भएको छ ।

साढे तीनसय भन्दा बढी सर्वसाधारणको ज्यान गएको र एक सय बढी बालबालिकासहित एक हजार छ सय भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण पाँच लाख २० हजार भन्दा युक्रेनीले घर छोडेका छन् । इन्डियन एक्पे्रस, बीबीसी र अलजजिराबाट