२०८१ बैशाख १४ , शुक्रवार

मुलुकका लागि एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु शुभ सङ्केत होइन : विवेकशील साझा

सुनाखरी न्युज/ काठमाडौँ । विवेकशील साझा पार्टीले एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालजस्तो मुलुकका लागि शुभ सङ्केत नभएको बताएको छ ।

 

साझा पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ सङ्केत होइन।’विज्ञप्तिमा एमसीसी कम्प्याक्ट सम्झौतालाई गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाइनुले नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको पनि उल्लेख गरिएको छ । ‘विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ’, विवेकशील साझाले भनेको छ, ‘संसद्मा देशको हित बारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो।’

सो पार्टीले अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो भन्दै त्यस्तो काम अब कसैबाट पनि हुन नहुनेमा जोड दिएको छ । सो पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधन र आवश्यक संशोधनबिना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता विगतमा पटक पटक स्पष्ट रूपमा राख्दै आएको पनि स्मरण गराएको छ ।