२०८१ बैशाख २७ , बिहिवार

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा ३८ गुणा बढी आवेदन

सुनाखरी न्युज/ काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन आइतवारसम्म माग भन्दा ३८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ ।

 

सिडिएस क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदक बाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले फागुन ११ गतेदेखि ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको सहित कुल ८ लाख २८ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

 

कुल कित्ता शेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि सुरक्षित गरी ४१ हजार ४३७ कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपछि उक्त पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।