२०८१ बैशाख २७ , बिहिवार

एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित, अर्को बैठक साढे ६ बजे बस्ने

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् ।

 

सभामुख सापकोटाले अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए । उक्त प्रस्तावलाई संसदको बहुमतले स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराएका थिए । सम्झौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा आरक्षण सम्बन्धी व्यवस्था अर्थात संशोधनको व्यवस्था नभएको भन्दै सभामुखले साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरे ।

 

साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निर्णयार्थ पेश गर्नेछन् ।सैद्धान्तिक छलफलमा एमाले भीम रावलसहित सत्तारुढ गठबन्धनका सांसदहरुले पक्ष र विपक्षमा धारणा राखेका थिए । प्रतिपक्षी एमालेका सांसद भने बैठक अवधिभर उभिएर नाराबाजी गर्दै अवरोध गरिरहे । आजै एमसिसी पारित गर्न अर्को बैठक साढे ६ बजे बस्ने भएको छ।