२०८१ जेठ ३ , बिहिवार

गठबन्धन कायमै राख्नेगरी एमसीसीमा सहमति खोज्ने प्रयास जारी

सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् ।

 

सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति जुटाउन छलफल भएको हो । छलफल पछि माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताउनुभयो । प्रचण्डले गठबन्धन नटुट्ने दावी गर्नुभयो ।

 

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थीतिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताउनुभयो । एमसीसीको मुद्धाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उहाको भनाई छ । उहाले एमसीसीलाई गठबन्धनसंग जोड्न नहुने तर्क गर्नुभयो ।

 

त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका बिषयमा कुनै छलफल नभएको बताउनुभयो । उहाले मुलुकको हित बिपरितका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिनुभयो । एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । एमसीसीका कारण दुई पटक स्थगीत गरिएको प्रतिनिधिसभाको बैठक आइतबार नै बस्दैछ ।