२०८१ जेठ ३ , बिहिवार

मेलम्चीको पानी काठमाडौं ल्याउन तिव्ररुपमा काम हुँदै, कहिलेदेखि आउँछ काठमाडौंमा पानि ?

सुनाखरी न्युज/ काठमाडौं ।
मेलम्चीको पानी काठमाडौं ल्याउन तिव्ररुपमा काम भैरहेको छ । मेलम्ची खानेपानी आयोजनाले आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पठाउने गरी काम भइरहेको जनाएको छ ।

गत असारमा आएको बाढी पहिरोले आयोजना स्थललाई पुरेको थियो भने निर्माण सामग्री र उपकरण बगाएर लगेको थियो । मेलम्ची अम्बाथानमा काठमाडौं पानी पठाउने मुख्य बाँधस्थलमा हिमाली क्षेत्रदेखि आएको ढुङ्गा, गिट्टी, बालुवा सहितको गेग्य्रान थुप्रिएको छ ।

झन्डै ४० प्रतिशत गेग्य्रान हटाउने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए । आयोजनास्थलमा थुप्रिएका ठुला–ठुला चट्टान हटाउन नेपाली सेनाको समेत सहयोग लिइएको छ । विस्फोटक पदार्थ पड्काएर चट्टान फुटाउने कामपनि भइरहेको छ ।

उनले आगामी चैत मसान्तसम्ममा काम सकेर सुरुङमा पानी पठाउने उद्देश्यका साथ काम भइरहेको बताए । हेडवक्र्स, डाइभर्सन टनेल तथा अम्बाथानमै रहेको सुरुङ प्रवेश गर्ने झन्डै ३ सय मिटरको अडिटको सफाइको काम बाँकी छ ।

आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना पुरिएका छन्, त्यी क्षेत्रहरुमा सफाइको काम बाँकी नै रहेको छ । ढुङ्गा माटो र लेदोले झन्डै पन्ध्रदेखि बीस मिटर उचाई पुरिएको र त्यसलाई सफा गर्न समय लाग्ने उनले बताए ।

यस्तै मेलम्चीको सुरुङ अन्र्तगत सुन्दरीजल, सिन्धु र ग्याल्थुमबाट सुरुङमा प्रवेश गर्ने ढोकाहरू खोली भित्र गएर सुरुङको अवस्था जाँच गर्ने काम पनि थालिएको छ ।