२०८१ बैशाख ३० , आइतवार

एमसीसी पास गरी गठबन्धन जोगाउन सत्तारुढ दलहरूको नयाँ समझदारी !

सुनाखरी न्युज/ काठमाडौं ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुने र गठबन्धन जोगाउने  बाटो रोजेका छन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् ।

‘अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’

माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

शुक्रबार नै कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्नि सापकोटालाई भेटेर एमसीसी अनुमोदनको संसदीय प्रक्रियाबारे सरकारको धारणा जानकारी गराएका छन् । सैद्धान्तिक छलफलमै मत विभाजन गराउने संसदीय प्रक्रिया नभएको भन्दै उनले सभामुखको धारणा मागेका थिए ।

जवाफमा सापकोटाले यसबारे आफ्नो कुनै धारणा नभएको र सबै विषय आपसी छलफल र सहमतिकै आधारमा अघि बढिरहेको जानकारी गराएका थिए ।

बिहीबार कांग्रेससँग दुई चरण र माओवादी केन्द्रसँग भएको छलफलमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदको पद खारेजीलाई पूर्वशर्तका रुपमा अघि सारेको थियो । तर एमाले र कांग्रेसबीच छलफल बाक्लिएपछि माओवादी केन्द्र र समाजवादी झस्किएका थिए ।