२०८१ बैशाख ३१ , सोमवार

अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारको पिसीआर परीक्षण निःशुल्क हुने

सुनाखरी न्युज/ काठमाडौं । सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारिमा जाने नेपाली कामदारको पिसिआर परिक्षण निःशुल्क गर्न लागेको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले वैदेशिक रोजगारिमा जाने कामदारहरुकालागि अब निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरिएको जानकारी दिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारिमा जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि निःशुल्क पिसीआर परीक्षण हुने उनले बताए । तर, यस्तो निःशुल्क पिसिआरको सेवा लिनका लागि कामदारहरुले आफु वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।