२०८१ बैशाख १३ , बिहिवार

लेखनाथ महोत्सव फागुन २६ देखि

सुनाखरी न्युज/ काठमाडौं । यो पटकको लेखनाथ महोत्सव फागुन २६ गतेदेखि चैत ७ गतेसम्म हुने भएको छ । पोखरा तालचोक डाँडाकोनाकमा हुने महोत्सवको मुख्य प्रायोजक नेपाल इको प्यानल हुने भएको छ ।

 

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले देशैभरि दिगो निर्माण सामाग्रीको प्रयोगलाई वढावा दिन प्रायोजन गरेको बताउँछन् । इटाको विकल्पमा प्रयोग हुने इको प्यानललाई देशैभरि पु¥याउने उद्देश्यका साथ आफूहरु सहभागी भएको उनी सुनाउँछन् । यसले गाउँगाउँबाट महोत्सवमा सहभागी हुन आउने पाहुनाहरुले बैकल्पिक निर्माण सामाग्रीबारे जानकारी पाउने उनको विश्वास छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना, गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पोखरा महानगरपालिका कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा महोत्सव गर्न लागिएको हो ।

 

महोत्सवमा राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन रहने जनाइएको छ । महोत्सवको मुख्य उद्देश्य कोभिड १९ को कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने रहेको महासचिव उपेन्द्रराज सुवेदी राजुले बताए । ‘औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुयाउने महोत्सवको मुख्य उद्देश्य हो,’ उनले भने ।

 

साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा÷महिला समूहहरुको आफ्नो झाँकी र्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट लगायतका कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

 

लेखनाथ महोत्सव २०७८ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ८ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । करिब ३०० स्टल रहने यस महोत्सवमा करिब २ लाख पचास हजार दर्शकले मेला अवलोकन गर्ने र करिब १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १ करोड ५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९० लाख खर्च भई रु १५ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने बताइएको छ ।