२०८० चैत्र १५ , बिहिवार

तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

सुनाखरी न्युज/ काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल आज अपरान्ह ३:४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ।

 

सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित हुँदै विश्वकप खेल्न बञ्चित भएका थिए। अब यी दुवै टिम यो प्रतियोगिताको सुःखत अन्त्य गर्न चाहन्छन्। जारी प्रतियोगिताको समूह चरणमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो। त्यस्तै, दोस्रोमा नेपालले फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

 

तर, नेपालले सेमिफाइनलमा यूएईसँग ६८ रनले हार बेहोर्दै फाइनल पुग्न असफल भयो। नेपालकै समूहमा रहेको घरेलु टिम ओमानले क्यानडा र फिलिपिन्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। ओमानविरुद्ध नेपालको सम्भावित-११ : कुशल भुर्तेल, लोकेश बम, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, सागर ढकाल, अविनाश बोहरा, सन्दीप लामिछाने (कप्तान) र साहब आलम, विवेकुमार यादव/गुल्शन झा ।