२०८१ बैशाख १४ , शुक्रवार

संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

सुनाखरी न्युज/ काठमाडौं । आज विरोध प्रदर्शन हुनसक्ने भन्दै संसद् भवन नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिनजसो विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । संसद् बैठकमा एमसीसी टेबल भएको दिन गएको आइतवार प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ ।

 

सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो । संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहान ११ बजेपछिको समयमा माइतीघर मण्डला–नयाँ बानेश्वर हुँदै यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ ।

 

यो समयमा सकेसम्म यो रुटको साटो वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरिएको छ । गएको आइतवार विरोध प्रदर्शनका कारण यो क्षेत्रमा लामो जाम भएको थियो भने झडपका क्रममा बाटो हिँड्ने बटुवा पनि समस्यामा परेका थिए ।