२०८१ जेठ ५ , शनिवार

निक्षेपकर्ताहरूको रकम ठगी गरेको अभियोगमा सहकारीका २ जना संचालकहरू पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका-३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका संचालकहरुले हिनामिना गरी आफूखुशी सहकारीको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो ।

अन्य बचतकर्ताहरुले समेत उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न उक्त ब्यूरोले अनुरोध गर्नुका साथै यस सम्बन्धमा ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।