२०८० चैत्र १६ , शुक्रवार

पूर्वी युक्रेनका दुई प्रान्तलाई रुसद्वारा स्वतन्त्र घोषित : मध्यपूर्वका देशहरु विभाजित

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वी युक्रेनका विद्रोही क्षेत्रहरु डोनत्स्क र लुहान्सलाई रुसले स्वतन्त्र घोषणा गरेपछि यो मामिलामा मध्यपूर्वका मुलुकहरु विभाजित भएका छन् । मस्कोले किभ र युक्रेनका बाँकी भागहरु पनि आफूमा विलय गराउन सक्ने आशंका बीच उनीहरु विभाजित भएका हुन् ।

 

रुसले युक्रेनका यी दुुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ र त्यहाँ शान्ति बहालका लागि आफ्नो सेना पठाउने बताइसकेको छ । यो कदमको टर्कीले कडा रुपमा आलोचना गरेको छ भने इरानले सबै पक्षलाई सीमित नियन्त्रित अवस्थामा रहनका लागि आग्रह गरेको छ ।जोर्डनले सम्भावित द्वन्द्वप्रति पूर्व सावधानी अपनाउन आग्रह गरेको छ । पुटिनको कदमप्रति सिरियाले समर्थन गरेको छ । यो मुलुक लामो समयदेखि रुसी समर्थक रहँदै आएको छ । यसैगरी यमनको इरान समर्थित हुुथी विद्रोहीले पनि समर्थन गरेका छन् ।

 

पछिल्लो युरोपेली विकासक्रमको बारेमा बहराइन, इजिप्ट, इराक, कुवेत, ओमान, साउदी अरेबिया र यूएईले अझैपनि आफ्नो धारणा राख्न बाँकी नै छ । ‘रुसको यो निर्णय अस्वीकार्य छ । यसमा सामान्य बुझाई राख्नुपर्ने र सबैले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने छ,’ टर्किस राष्ट्रपति एर्दोगानले रोयटर्सलाई बताएका छन् । ‘इरान तनाव बढाउने कुनै पनि कदम त्याग्नुपर्ने विश्वास राख्छ,’ इरानका विदेश मन्त्रीले मंगलबारको ट्वीटमा भनेका छन् ।

 

जोर्डनले पनि सम्भावित युद्धप्रति चासो व्यक्त गरेको छ । यसले तीव्र रुपमा बढिरहेको उर्जा र गहुँको मूल्य तथा अन्तर्राष्ट्रिय आयातमा निर्भरता रहेकाले पनि युक्रेन–रुसप्रतिको युद्धमा उसको चासो गएको एक सरकारी अधिकारीले बताएको अरब भाषामा सेवा प्रदान गर्ने अल अरेबी एल–जाडिडले उल्लेख गरेको छ । विपक्षि समूह विरुद्ध रुसको समर्थनमा रहेको सिरियाली शासनले पुटिनको कदमलाई स्वागत गरेको छ । यमनको हुुथी बिद्रोहीले पनि क्रेमलिनको निर्णयप्रति समर्थन जनाएको छ । एजेन्सी