२०८१ जेठ ५ , शनिवार

कवि दिनेश पाण्डेयको “पुस्तकको तिरोधान” कृतिको पद्यसमीक्षा

सुनाखरी न्युज/ काठमाडौं।

पद्यसमीक्षा

पाएँ पुस्तक पौषकै दिन छँदा श्री मित्र पाण्डेयको
पस्नै भ्याइनँ बुझ्न झन् पर रह्यो त्यो भित्रको ध्येयको
कोक्यायो जब भित्र कौतुहलले कस्दै पलेँटी बसेँ
के के छन् पद वर्ग भाव रसिला भन्दै नियाल्दै पसेँ ।।१

 

नामै पुस्तकको छ पुस्तक स्वयम् आफैँ हराएसरि
भन्छन् खै किन हो हराउन गयो आश्चर्य भो हे हरि
माता मातृधरा पिता चरणमा जो पुष्प भो अर्पण
सोही पुस्तकमा पसेँ अब भने गर्ने छु उद्यापन !!२

 

श्री नारायण जङ्ग, होम, ऋषिका सद्भाव सर्वोत्तम
त्यस्तै भाव बहाउने थपलिया हुन् राम वा उत्तम
लेखेछन् छ विनोदको पनि अहा उद्गार मीठा सबै
बोक्ने भार प्रकाशिका सुमि..बनिन् मायाँ मिल्यो गर्वकै ।।३

 

के के छन् जड सिर्जना किन भयो के हो कथा प्रेरणा
आद्योपान्त खुलाउँछन् प्रिय दिपा राम्रो छ सम्प्रेषण
पैल्यै मंगल गानमा सरसरी आध्यात्म सम्झाउँदै
भाके ईश समस्त नाम महिमा शार्दूल घन्काउँदै ।।४

 

नामै पढ्न छ कष्ट कूट छ सबै छन् पात्र को को भनी
त्यो सोझै नबुझून् भनी तिरिमिरी पार्दै खुुल्यो लेखनी
तेस्रो खण्ड भनूँ कि काण्ड म भनूँ सर्वार्थ अभ्यस्त छ
यो वा ऊ नभनौँ दराज नखुली भागे अरे पुस्तक ।।५

 

लेख्दै छन् कवि काव्य जो जतनले सद्भावना वेश छ
आफैँ पुस्तक फर्कँदै छ कि कतै सम्भावना शेष छ
भन्दै काव्य फुराउँदै विनयले फिर्छन् कि ता तै भनी
गर्दै हारगुहार पाठकसँगै पोख्छन् दिलाशा पनि ।।६

 

लानै पर्छ सुटुक्क लौ किन जहाँ फर्काउने नै भए
फर्कन्थ्यो किन पाइला र जनको भाग्ने इरादा रहे
के हो कारण ता बुझून् मनमनै प्रत्यक्ष भागीहरू
बुझ्नै मुस्किल भो पढेर कविता यो काण्डको आबरु।।७

 

दर्ता भो अभियोग नै जब भने मैले लगेँ भन्छ को
चोरेकै यदि हो भने पनि उसै दोषी खुदै बन्छ क‍ो
यस्तो सार विचार कत्ति नहुँदा निर्दोष दोषी भयो
लेखे शिष्ट बने झुके कलमकै अभ्यर्थना व्यर्थ भो।।८

 

बुझ्दै राय समाउँदै लय कडी राखेर सञ्जालमा
यौटा रोचक श्रृङ्खला अघि बढ्यो अभ्यसको आडमा
आफैँ चोर छुटोस् भनेसरि गरी मौका दिँदै लेखियो
सिङ्गो काव्य फुराउने मनसुबा सङ्लो थियो देखियो ।।९

 

आएका जति टिप्पणी शुभ थिए राखे समेटे सबै
त्यो मायाँ अनुराग हो कि म भनूँ सद्भाव हो भावकै
लेख्नेमा गिरिराज, शम्भु, पुरु छन् राम्रो छ संयोजन
मेरो नाक समेत फुर्फुर भयो पाएर मौका सम ।।१०

 

केही पुस्तक चाहकै खटनमा पुग्दा तिरोधानमा
बग्दा भाव प्रवाहमा सलिलझै सद्ज्ञान सम्मानमा
लाग्यो ध्यान निखारमा घनघसी गल्थ्यो कहाँ मस्तक
थाकेनन् जब धैर्य नै स्थिर भयो जन्म्यो नयाँ पुस्तक ।।११

 

कवि मित्र दिनेश पाण्डेयको “पुस्तकको तिरोधान”भित्र पसेर निस्किँदा :
रामहरि शर्मा “शराह”
गैडाकोट ११ , भेँडाबारी नवलपुर ।