२०८१ जेठ ५ , शनिवार

तनहुँमा स्थानीय तह निर्वाचन तयारी तीव्र

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।

 

निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । कार्यालयले दुई लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष छन् । ‘मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौँ, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौं’ उनले भने ।  उनका अनुसार विगत एक वर्षको अवधिमा जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

 

सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो । नागरिकता वितरण लगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो । कार्यालयले यही फागुन १९ गतेभित्र १० वटै स्थानीय तहमा मतदाता नामावली पठाउने तयारी गरेको छ । यसपछि दाबी विरोधको कामलाई अगाडि बढाइनेछ । विवरण सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने काम फागुन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।  चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गर्ने कार्यालयको तयारी छ ।

 

स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता रहेका थिए । मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ । कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो । निर्वाचन अधिकारी ढकालले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताए । त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेस गर्नुपर्ने उनले जानकारी दिए ।

निर्वाचन केन्द्रित कार्यक्रममा दलहरु

जिल्लाका प्रमुख राजनीतिक दलहरुले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस,नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी लगायतले आ आफ्ना गतिविधि अगाडि बढाएका हुन् । काँग्रेसले निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तनहुँ क्षेत्र नं १ ले केही दिन अगाडि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका १० पालिका, क्षेत्र, प्रदेशसभा क्षेत्रमा पनि बैठक, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

 

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन केन्द्रित कार्यक्रमका लागि कार्यकर्ता परिचालनका लागि सबै पालिकामा जिम्मेवारी तोकिएको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले पनि निर्वाचन केन्द्रित गरी वडा भेलालाई तीव्रता दिइरहेको छ । जिल्ला सचिव श्रीराम कार्कीका अनुसार जिल्लाका सबै पालिकामा वडा कमिटी गठन गरी सङ्गठन विस्तारको अभियानलाई तीव्रता दिइएको छ ।  रासस