२०८१ बैशाख १३ , बिहिवार

लाखौ मुल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

सुनाखरी न्युज/ काठमाडौं। पर्सा जिल्लाको विरगंज महानगरपालिका २ हरपतगंज ईलाकाबाट फागुन ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।

सो ठाउँमा रहेको एक गोदाम घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर १३ गण पर्सा, बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो ।

यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ ब्रम्हदेव रोड ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले करीव ९ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उक्त मोर्टर पाटर््स सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।