२०८१ बैशाख १३ , बिहिवार

हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा पनि जारी रहने

सुनाखरी न्युज/ हुम्ला-

जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ ।

 

निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने रानाले बताए । उक्त सेवा निर्वाचनका समयसम्म जारी रहनेछ ।

 

हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई नयाँ परिचयपत्र दिने काम भइरहेको छ ।  आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा निवेदन दिनेले नयाँ मतदाता परिचयपत्र पाउने कार्यालयले जनाएको छ । हाल कार्यालयमा पाँच कर्मचारी खटिएका छन् । कामको चाप हेरी कर्मचारी थप्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।

 

फागुन १९ गते जिल्लाका ४४ वटै वडाका मतदाताको नामावली प्रकाशित हुने र त्यसपछि २५ गतेसम्म दाबी विरोधको कार्यक्रम सञ्चालन हुने रानाले जानकारी दिए । हुम्लाको मतदाता सङ्ख्या ३२ हजार ९८३ रहेको छ । विसं २०७४ को निर्वाचनमा २९ हजार ३८८ मतदाता थिए । रासस