२०८१ जेठ ७ , सोमवार

नक्कली लाइसेन्स लिएर सवारी चलाउनेलाई अब अन द स्पट कारबाही

सुनाखरी न्युज/ काठमाडौं ।

नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न ट्राफिक प्रहरीले प्रविधिको प्रयोग गर्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स मार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सक्ने बताए । उनले एक वर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्नसक्ने प्रावधान रहेको समेत जानकारी दिए ।

 

महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यता रहेकोमा अब आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एपमार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्ने बताए ।