२०८१ बैशाख १४ , शुक्रवार

संसारको सबैभन्दा महंगो एम्बुलेन्सको मुल्य कति ?

सुनाखरी न्युज/ काठमाडौं ।

कहिल्यै सोच्नु भएको छ संसारको सबैभन्दा महंगो एम्बुलेन्स कस्तो होला? कुन देशमा होला? अनि कति पर्ला? संसारको सबैभन्दा महंगो एम्बुलेन्स दुबईमा छ। यसको मूल्य १३ मिलियन दुबई दिराम पर्छ। यो भनेको नेपाली ३५ करोड ८० लाखभन्दा बढी हो।

 

गत महिना मात्रै दुबई कर्पोरेसन फर एम्बुलेन्स सर्भिस (डिसिएएस)ले संसारको सबैभन्दा महंगो एम्बुलेन्सको अनावरण गरेको हो। यो एम्बुलेन्स सबैभन्दा महंगो मात्र होइन, सबैभन्दा तीब्र गतिमा गुड्छ। यो एम्बुलेन्सलाई हाइपर स्पोर्टस् रिपन्डर भनिएको छ। यसको उत्पादन डब्ल्यू मोटर्सद्वारा युएईमा भएको हो। यो एम्बुलेन्स सबैभन्दा महंगो, तीब्र गतिमा गुड्नेसँगै यसको विशेषताहरू पनि पृथक छन्। यो एम्बुलेन्स बिलासी र आरामदायी छ। कम्पनीले यो लाइकन हाइपर स्पोर्ट सुपर कार सन् २०२० दुबई अटो एक्सपोमा पहिलो पटक सार्वजनिक गरेको थियो।

 

डब्ल्यू मोटर्सका अनुसार विश्वभर जम्मा ७ वटा लाइकन हाइपर स्पोर्ट कार उपलब्ध छ। हाइपर स्पोर्टस् रिपन्डर एम्बुलेन्सको अगाडि भागमा एलइडी हेडलाइट दिइएको छ। यसको भित्री डिजाइनिङ पनि फराकिलो र थुप्रै आवश्यक विशेषताहरूले भरिपूर्ण छ। यसमा गोल्ड-प्लेटेड इन्टेरिअर रूफ पाउन सकिन्छ। यो गाडीमा जम्मा २.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्ने क्षमता छ। र, यसको टप स्पीड ४०० किलोमिटर प्रति घण्‍टाको छ।

 

‘यो गाडीको गति र विशेषताहरूका कारण आपतकालिन अवस्थामा निकै उपयोगी सावित हुनेछ। र समयमै बिरामीलाई अस्पताल पुर्‍याउन सक्छ,’ डिसिएएसका प्रमुख कार्यकारी अधिकृत खलिफा बिन दरराईले कम्पनीद्वारा जारी विज्ञप्तिमा भनेका छन्। यो गाडीको रफ्तार र यसमा समावेश गरिएको विशेषताहरूका कारण स्वास्थ क्षेत्रमा ठूलो योगदान पुर्याउने विश्वास राखिएको छ। एजेन्सी