२०८१ जेठ ७ , सोमवार

गठबन्धन टुट्दैन, एमसीसी प्रक्रियाबाट टुंगिन्छ : अध्यक्ष दाहाल

सुनाखरी न्युज/ काठमाडौं। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन नटुट्ने बताउनुभएको छ ।

 

सोमबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

 

अध्यक्ष दाहालले भन्नुभयो, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनुपर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’कांग्रेस वरिष्ठ नेता पौडेलले सोमबार नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको थियो ।