२०८१ जेठ ४ , शुक्रवार

धितोपत्र बोर्डका अध्यक्ष हमालद्धारा पदभार ग्रहण

सुनाखरी न्युज/ काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माबाट शुक्रबार सपथ लिएका हमालले आइतबार बोर्डको कार्यालय ललितपुरमा अध्यक्षको कार्यभार सम्हालेका हुन् ।

 

करिब ६ महिनापछि गत बिहीबार सरकारले कैलालीका हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरेका छन् । उनले नेपालको सेयर बजार र त्यसको नियामकका रुपमा रहेको बोर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, साना लगानीकर्ताको हित तथा कारोबारमा विविधीकरण गर्न आफू लागिपर्ने बताउँदै आएका छन् । नवनियुक्त अध्यक्ष हमालले लगानीकर्ताको मनोविज्ञानलाई पनि सम्बोधन गर्दै आफूले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

सर्वोत्तम सिमेन्टस्को सेयर खरीद प्रकरणमा मुछिएपछि सरकारले तत्कालीन अध्यक्ष भिष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि अध्यक्ष पद रिक्त थियो । तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको समितिले बोर्ड अध्यक्ष चयन गरेको थियो । नेपाल सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्ष नियुक्त गरेको थियो । शुक्रबार अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।