२०८१ जेठ १ , मंगलबार

एमाले केन्द्रीय कोषको चैत मसान्तभित्र आन्तरिक लेखा परीक्षण हुने

सुनाखरी न्युज/ पोखरा ।
नेकपा एमाले केन्द्रीय लेखा आयोगको दोस्रो पूर्ण बैठक विभिन्न निर्णयसहित पोखरामा सम्पन्न भएको छ । आयोगको बैठक तथा प्रशिक्षण कार्यक्रम फागुन ५ देखि ७ गतेसम्म पोखरामा आयोजना भएको थियो ।

 

बैठकले आयोगमा थप केन्द्रीय सदस्य मनोनीत गर्दै पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाई सबै ढंगले अगुवाई गर्न सक्षम बनाउने प्रतिबद्धता जनाएको छ । हिजो बिग्रिसकेकोलाई आगामी दिनमा अझ राम्रो बनाउने गरी आयोगले कार्य थालनी गरेको अध्यक्ष डा. पुष्प कँडेलले जानकारी दिए । ‘पार्टी सबै रुपले सक्षम भयो भने मात्र देश सबल बन्नेछ,’ उनले बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकारहरुमाझ भने, ‘पार्टी भित्रको आर्थिक पारदर्शितालाई हामीले पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेका छौं ।’जनता र कार्यकर्ताहरुबाट नेतृत्वमाथि उठ्ने सवाललाई सम्बोधन गर्ने गरी आयोगले व्यवस्थित ढंगले काम गरिरहेको उनले बताए । ‘पार्टीका सबै जनसंगठन र मातहतका कमिटी भित्रको आर्थिक गतिविधिलाई आयोगले लेखापरीक्षण गरी पारदर्शी र जवाफदेही बनाउने छ,’ उनले भने, ‘नेकपा एमाले व्यवस्थित भयो भने अन्य पार्टीलाई पनि दबाब सिर्जना हुन्छ ।’

सोहीअनुसार बैठकले पार्टीको आर्थिक परिचालन र लेखा व्यवस्थापनका निम्ति केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनिमय २०७८, लेखापरीक्षण नियमावली २०७२ (प्रथम संसोधन २०७८) र लेखा व्यवस्थापन तथा लेखा निर्देशिका २०७८ पारित गर्दै आगामी चैत मसान्तसम्ममा पार्टीको केन्द्रीय कोषको आन्तरिक लेखापरीक्षण गर्ने भएको आयोगका सचिव शिव अधिकारीले जानकारी दिए । ‘पार्टीका प्रदेश तथा जिल्ला कमिटीको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘प्रदेश स्तरमा लेखा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टीको स्थिर सम्पत्तीको अभिलेख तयार गर्ने र जनसंगठनहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लगायत आयोगको आन्तरिक परिचालन सम्बन्धी महत्वपूर्ण निर्णय भएको छ ।’

बैठकले आयोगमा केशबहादुर केसी (कास्की), प्रेमप्रसाद पराजुली (काठमाडौं), लिलाधर तिवारी (सुर्खेत), बद्री भट्टराई (बारा), जनक बराल (काठमाडौं), लक्ष्मी शाह (दैलेख) र रामेश्वर श्रेष्ठ (ललितपुर)लाई पार्टी विधान बमोजिम सदस्यमा मनोनय गरिएको सचिव अधिकारीले जानकारी दिए । बैठकको शुभारम्भ पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो । बैठकमा विशिष्ठ अतिथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, पार्टी नेता सोमनाथ प्यासी, केन्द्रीय सदस्यहरु मायानाथ अधिकारी र भीमबहादुर कार्की, कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङसहितको उपस्थिति रहेको थियो ।