२०८१ जेठ ५ , शनिवार

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

सुनाखरी न्युज/सर्लाही ।

 

जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

 

उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उनले बताए । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ ।

 

विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ । एमआरपीका तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ । रासस