२०८१ जेठ १ , मंगलबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, के के बिषयमा हुँदैछ छलफल ?

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्रीको निवास  बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ । अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहानका लागि बैठक बोलाइएको थियो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्‌मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार छैनन् ।

बिहीबार अपरा‍न्ह बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रस्ताव राखेका थिए ।

फागुन १६ भित्र एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनैपर्ने भएकाले संसद्‌मा पेस गरेर छलफल गर्नुपर्ने उनको अडान छ । प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउन कोसिस गरेका थिए ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा एमसीसीको विपक्षमा रहेका नेताहरूले छलफल गरेका थिए ।

संसद् बैठक  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।