२०८१ बैशाख ८ , शनिवार

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान

सुनाखरी ज्युज/ रुपन्देही ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ ।

 

उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिनुभयो ।

 

क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उहाँको भनाइ छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ ।

 

उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।