२०८१ बैशाख ७ , शुक्रवार

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त, को हुन् हमाल?

सुनाखरी न्युज/ काठमाडौं ।

पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को  बिहीबार बसेको  बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । पछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र बोर्ड अध्यक्षमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनामा हमाल अध्यक्ष नियुक्त भएका स्रोतको भनाइ छ ।

इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले आठ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम गरेका थिए । त्यसपछि उनले थाइल्याण्डको बैंककबाछ इन्टरनेसनल विजनेस एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका छन् । सन् २००७ देखि २०१० सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्याण्डको को अध्यक्ष भएका उनी ६ वर्षअघि मात्र नेपाल फर्किएका थिए ।

नेपाल फर्किए लगत्तै उनी थाइल्याण्डको चर्चित होटल ब्राण्ड दूषित थानीको चेन होटलको रुपमा काभ्रेमा पाँचतारे होटल निर्माण गरिरहेका छन् । आफूले विदेशमा सिकेको सीप र ज्ञानलाई भरपुर उपयोग गरेर बोर्डको नेतृत्व सम्हाल्ने उनले प्रतिक्रिया दिए ।