२०८१ जेठ ८ , मंगलबार

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक : एमसीसीमा जबर्जस्ती गरिए गठबन्धन तोड्ने चेतावनि

सुनाखरी न्युज/ काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीमा जबर्जस्ती गरिए गठबन्धन तोडिने र त्यपछि आफूहरु सरकारमा नरहने बताएको छ।

 

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको निर्णय सुनाउँदै प्रमुख सचेतक देव गुरुङले पाँच दलको निर्णय बिना सरकारले निर्णय गर्न नसक्ने बताए। ‘गठबन्धन प्रणाली अनुसार गठबन्धनको निर्णय नै सरकारको निर्णय हुन्छ। गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुनसक्दैन। त्यसकारणले गठबन्धनको निर्णय बिना सरकारले वा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ। गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिने कुरा आउँछ’, गुरुङले भने।

 

एमसीसीमा रहेका असमान सर्तहरु, राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरु संशोधन र परिमार्जन नगरिकन यथास्थितिमा अगाडि बढाउन नसकिने माओवादी संसदीय दलको निर्णय छ। सरकारले जबर्जस्ती अगाडि बढ्यो भने आफूहरुले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको गुरुङले बताए। अहिले सदनलाई प्रतिपक्षी पार्टीले अवरोध गरिरहेको अवस्था भएकाले सदन सुचारु गर्नलाई जोड दिने निर्णय पनि माओवादीले गरेको छ।

 

एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन, सर्वदलीय सहमति नजुटिकन प्रक्रिया अगाडि बढ्न नसक्ने माओवादीको निष्कर्ष छ। ‘त्यसैले एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, दलहरुको बीचमा सहमति हुनुपर्छ। कमसेकम सरकारमा रहेका दलहरुको बीचमा सहमति हुनुपर्छ। दलहरुको बीचमा सहमति नभइकन यो अगाडि बढ्न सक्दैन’, गुरुङले भने। एमसीसी ल्याउने सर्तमा महाभियोग ल्याइयो भन्ने कुरा झुटो प्रचार भएको उनको भनाइ छ।