२०८१ जेठ ५ , शनिवार

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयद्वारा विविध जनचेतनमूलक कार्यक्रम संचालन

सुनाखरी न्युज/ काठमाडौं – कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप सुदृढिकरण गर्नको लागि विविध जनचेतनामूलक कार्यक्रम एवम् अभियानहरु संचालन गर्दै आइरहेको छ ।

 

अभियान अन्तर्गत बिभिन्न सडक खण्डमा पार्किङ, नो-पार्किङ, हर्न निषेध, दुर्घटना ग्रस्त क्षेत्र, रोक्न निषेध लगायतका बिभिन्न स्थानहरुमा ट्राफिक संकेत बोर्डहरु राख्नुका साथै दुर्घटनाहरु हुने सम्भावित स्थानहरुको पहिचान गरी उक्त स्थानहरुमा सचेतनामूलक ट्राफिक संकेत, चिन्हहरू उल्लेख गरिएका बोर्डहरू राख्ने, “लभ थर्टी” अन्तर्गत आवास क्षेत्रमा प्रतिघण्टा ३० किलोमिटर गति सिमा, मादक पदार्थ सेवन सम्बन्धी सचेतनामूलक कक्षा संचालन, चालक/यात्रुसँग १ मिनेट, स्ट्रिट्स फर लाईभ्स, सेभ किडस् लाईभ्स लगायतका कार्यक्रमहरु सञ्चालन भएका छन् ।

 

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेत मातहत जिल्लाहरूमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्य योजना निर्माण, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धि प्रशिक्षण संचालन, सडक सुरक्षाका उपायहरू अवलम्बन, प्रदेश अन्तर्गतका ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला निकायहरू, स्थानीय जनप्रतिनिधिहरू र यातायात व्यवसायीहरुसँग सवारी दुर्घटना तथा रोकथाम नियन्त्रण सम्बन्धि छलफल, समन्वय र सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई थप चुस्त राख्न विशेष पहल गरिएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।