२०८१ जेठ ४ , शुक्रवार

नेपालमा पनि सार्वजनिक हुँदै‌ हुन्डाईको विद्युतीय आइओनिक-५

सुनाखरी न्युज/ काठमाडौं – विभिन्न कम्पनीहरूले नयाँ-नयाँ मोडलका विद्युतीय गाडीहरू सार्वजनिक गर्ने क्रम जारी छ।

यस्तैमा हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दैछ। कम्पनीले सन् २०२२ को फेब्रुअरी महिना भित्रै नेपाली बजारमा आइओनिक-५ सार्वजनिक गर्ने भएको हो। आइओनिक-५ मा भएका विशेषताहरूका कारण गाडीबारे धेरैको चासो छ। यसको डिजाइनिङ र स्टाइल निकै आधुनिक हुनुका साथै आकर्षक छ। यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट र काल्मसेल हुड पाउन सकिन्छ।

 

हुन्डाईको नयाँ विद्युतीय ग्लोबल मोडुलर प्लेटफर्म (ई-जिएमपी)मा आधारित आइओनिक-५ पहिलो गाडी हो। यसमा जडित ब्याट्रीले फास्ट चार्ज समर्थन गर्छ।आइओनिक-५को भित्री डिजाइनिङमा प्रयोग भएका कच्चा सामग्रीहरू वातावरण मैत्री छन्। सुरक्षाको लागि आइओनिक-५ मा सात वटा एयरब्याग, हाइवे-ड्राइभिङ असिस्ट, रिभर्स पार्किङ, इएससीसहितको एबिएस, टायर मनिटरिङ प्रविधि, हिल असिस्ट, रिअर-भ्यू प्रविधिलगायत विशेषताहरू समावेश गरिएको छ। हुन्डाई आइओनिक-५ सोलार रुफ र भिजन रुफ गरी दुई भेरियन्टमा उपलब्ध छ। सोलार रुफ भेरियन्ट ५ देखि ७ प्रतिशत सोलार पावरबाटै चार्ज हुन्छ। यसको छतमा जडान गरेको शोलार प्यानलले घामबाट ब्याट्री रिचार्ज गर्ने प्रविधि जडित छ।

 

आइओनिक-५ मा ५८ किलोवाटको लिथियम आयन ब्याट्री हुने अनुमान छ। जसले १०० किलोवाट पावर र २९५ एनएम टर्क जेनेरेट गर्छ। यो विद्युतीय गाडीलाई सामान्य सकेटबाट समेत चार्ज गर्न सकिन्छ। एक पटकको पूरा चार्जमा यसले ३६५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ। पाँच सिटर आइओनिक-५ मा १५० एमएम ग्राउन्ड क्लेरेन्स र ३,००० एमएम ह्विलबेस छ। जुन भनेको नेपाली सहरी सडकहरूको लागि उपयुक्त छ। त्यस्तै, यसमा ३५७ लिटरको बुट स्पेस छ, जसलाई १,५८७ लिटरसम्म बढाउन सकिन्छ। यसको मूल्य ८५ लाख रुपैयाँ पर्ने अनुमान छ।