२०८१ जेठ ४ , शुक्रवार

विश्व बजारमा कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च विन्दुमा

सुनाखरी न्युज/ काठमाडौं –

विश्व बजारमा कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनबीच तनाव चुलिँदै जाँदा तेलको भाउमा पनि उच्च वृद्धि भएको हो । सोमबार पनि कच्चा तेलको भाउ २% भन्दा धेरैले वृद्धि भएको छ ।

रुस विश्वका ठूला तेल तथा ग्यास उत्पादक देशहरुमध्ये एक हो । रुसले युक्रेनलाई आक्रमण गर्नसक्ने भयका कारण तेलको भाउ प्रतिब्यारेल १०० अमेरिकी डलर नजिक पुगेको छ । जुन सन् २०१४ यताकै उच्च हो । सोमबार ‘ब्रेन्ट क्रुड’ २.२% ले बढेर प्रतिब्यारेल ९६.४८ डलर पुगेको छ । यस्तै, ‘वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड’ को भाउ पनि २.५% ले बढेर प्रतिब्यारेल ९५.४६ डलर पुगेको छ ।

यी दुवैको भाउ सन् २०१४ को सेप्टेम्बर यताकै उच्च हो । कच्चा तेल बजारका लागि रुस र युक्रेनको तनाव उच्च सम्वेदनशील बन्दै गएको छ । रुसले कनैपनि समय युक्रेनमाथि आक्रमण गर्नसक्ने अमेरिकाले चेतावनी दिएको छ । तनाव कम हुने अवस्था नदेखिएका कारण तेलको भाउ अझै बढ्नसक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।