२०८१ जेठ ४ , शुक्रवार

सार्वजनिक भयो भारु ९ लाखमा किया क्यारेन्स, के-के छन् विशेषता?

सुनाखरी न्युज/ काठमाडौं – भारतीय बजारमा किया क्यारेन्स सार्वजनिक भएको छ। कम्पनीले मंगलबार सुरुवाती मूल्य भारु ८ लाख ९९ हजारमा नयाँ क्यारेन्स सार्वजनिक गरेको हो।

 

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी पाँच विभिन्न ट्रिममा उपलब्ध छ। त्यसमध्ये सबैभन्दा टप भेरियन्ट लक्जरी प्लसको मूल्य भारु १६ लाख ९९ हजार तोकिएको छ। तीन-रो एमपिभी (मल्टी पर्पोज भेइकल) क्यारेन्स भारतीय बजारको लागि कियाको चौथो गाडी हो। यसभन्दा अघि कम्पनीले भारतमा सेल्टोस, सोनेट र कार्निभल सार्वजनिक गरेको थियो, जसले राम्रो बजार पाएको छ। कियाले गत वर्षको डिसेम्बरमा पहिलो पटक क्यारेन्सको अनावरण गरेको थियो।

किया इन्डियाले गत वर्षबाट भारतको आन्द्रा प्रदेशस्थित अनन्तरपुर म्यानुफ्याक्चरिङ प्लान्टबाट क्यारेन्सको उत्पादन सुरू गरेको हो। कम्पनीले यसको बुकिङ गत महिनादेखि खुलाएको थियो। अटो हिन्दुस्तानका अनुसार हालसम्म क्यारेन्सको लागि १९ हजार वटा बुकिङ आएको छ। किया क्यारेन्स १.५ लिटर नेचुरल्ली अस्पिरेटेड पेट्रोल मोटर, १.४ लिटर टर्बो पेट्रोल युनिट र १.५ लिटर डिजेल इन्जिन गरी तीन इन्जिन विकल्पमा उपलब्ध छ। १.५ लिटर पेट्रोल युनिट ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। १.४ लिटर टर्बो पेट्रोल युनिट ७ स्पीड डिसिटी र ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ भने क्यारेन्सको डिजेल युनिट ६ स्पीड अटोमेटिक र ६ स्पीड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ।

कम्पनीका अनुसार क्यारेन्सको पेट्रोल इन्जिनले प्रतिलिटर १६.५ किलोमिटरको माइलेज दिन्छ भने डिज‍ेल इन्जिन जडित क्यारेन्सले प्रतिलिटर २१.३ किलोमिटरको माइलेज दिन्छ। क्यारेन्सको बाहिरी आवरण पनि आकर्षक छ। यसको लम्बाई ४,५४० एमएम, चौढाई १,८०० एमएम र उचाईं १,७०८ एमएम छ। यसको ह्विलबेस भने २,७८० एमएम छ। सुरक्षाको लागि क्यारेन्समा ६ वटा एयरब्याग पाउन सकिन्छ। त्यस्तै, यसमा भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, रिअर पार्किङ सेन्सर, डाउनहिल ब्रेकिङ कन्ट्रोल, ब्रेक असिस्ट जस्ता विशेषताहरू समावेश गरिएको छ।

किया क्यारेन्समा १०.२५ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, डिजिटल ड्राइभर डिस्प्ले, ६४ रंगको एम्बिएन्ट लाइटिङ, एयर प्युरिफायर प्रविधि र अगाडिको सिटहरू भेन्टिलेटेड पाउन सकिन्छ। त्यस्तै, यसमा सनरुफ पनि छ। यो गाडीको क्याबिन खुल्ला हुनुका साथै यात्रुहरूको सहजताको लागि फराकिलो पनि छ। हाल भारतीय बजारमा सार्वजनिक क्यारेन्स भविष्यमा बाहिरी देशमा समे‍त निर्यात गर्ने किया इन्डियाको योजना छ। यसले बजारमा उपलब्ध हुन्डाईको अल्काजार, टाटा सफारी, मारुती सुजुकी एक्सएल-६, महिन्द्रा एक्सयुभी-७०० र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी