२०८१ जेठ ४ , शुक्रवार

टेस्लाको गाडीमा चल्दाचल्दै ब्रेक लाग्ने समस्या देखिएपछि गुनासो

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो समय बढ्दो रुपमा टेस्लाका मालिकहरुले गाडी चल्दाचल्दै अचानक आफैँ ब्रेक लाग्ने समस्याबारे गुनासो गरिरहेका छन् ।

 

यस सम्बन्धी अमेरिकाको सुरक्षा निरीक्षक निकायले छानबिन गर्ने बताएको छ । टेस्लामा अटोमेटिक ब्रेक लाग्ने फिचर हुन्छ । तर धेरैले यसमा चल्दाचल्दैको गाडी अनावश्यक रुपमा सडक खालि हुँदा पनि आफैँ ब्रेक लागेर रोकिने गरेको बताइरहेका छन् । यसले विशेषगरी पछाडिबाट आइरहेको गाडी ठोक्किने लगायत दुर्घटनाको जोखिम बढाएको राष्ट्रिय हाइवे ट्राफिक सुरक्षा निकायका प्रवक्ताले बताएका छन् । यसको समाधानका लागि विस्तृतमा छलफल भइहेको पनि उनले बताए । उनले थप भनेका हुन्, “डाटामा हेर्दा यसले वास्तवमै खतरा उत्पन्न गराउन सक्ने देखिए तत्काल कदम उठाइनेछ ।”

 

अटोमेटिक ब्रेक लाग्ने फिचरले दुर्घटना हुनबाट बचाउन सक्छ तर अनावश्यक रुपमा गाडी बीचमा रोकिन थाल्यो भने समस्या पनि गराउँदछ । यसमा सिस्टमले अगाडि केही अवरोध छ भने मात्र अटोमेटिक ब्रेक लगाउनु पर्ने हो । यसबारे अनुसन्धान गरिएपछि सम्बन्धित एजेन्सीले टेस्ला कम्पनीलाई यसको मर्मतका लागि विक्री भएका सबै गाडी फिर्ता लिन र हालका लागि कारोबार रोक्न माग गर्नेछ । यसअघि अक्टोबरमा पनि कम्पनीले यस्तो विभिन्न समस्या सम्बन्धी गुनासो आइरहेपछि अटोमेटिक ब्रेकिङ सफ्टवेयर सम्बन्धी नयाँ अपडेट जारी गरेको थियो । तर यो समस्या फेरि बढ्दो रुपमा देखिएको छ ।

 

वासिङटन पोस्टको रिपोर्ट अनुसार तीन महिनामा टेस्लाका गाडिको ब्रेक सम्बन्धी १०७ घटनाबारे रिपोर्ट प्राप्त भइसकेको छ । गत वर्ष पनि अमेरिकाको ट्राफिक सुरक्षा निकायले टेस्ला गाडीको एउटा फिचर हटाउन निर्देशन दिएको थियो जसमा सवारी चालकले गाडी चलाउँदै गरेका बेला अगाडिको ड्यासबोर्ड कम्प्युटर स्क्रिनमा भिडियो गेम खेल्न सक्थ्ये । टेस्लाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसअघि कम्पनीले गाडीमा अटोमेटिक सिस्टम भएपनि चालकले पूर्ण रुपमा सवारी चलाउन संलग्न रहिरहनुपर्ने किसिमले डिजाइन गरिएको बताएको थियो । सीएनएन