२०८१ जेठ ३ , बिहिवार

एमसीसी पास गर्नुको विकल्पै छैन् : प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पास गर्नुको विकल्पै नरहेको बताएका छन् ।

 

मंगलबार बसेको आफ्नो पार्टीको संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै यसलाई पास गर्नुको विकल्प नरहेको बताएका हुन् । बैठकबाट बाहिरिने क्रममा सांसद शशांक कोइरालाले देउवाको भनाई उदृत गर्दै भने, ‘उहाँले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गर्नुभयो । एमसीसी पास गर्नुको विकल्प नरहेको उनको भनाई छ ।’बैठकमा एमसीसी पास गर्नेबारे छलफल भएको र सबैले पास गर्नुपर्ने कुरा बताएको भन्दै उनले जानकारी दिए । एमसीसी पास गर्नुपर्ने पहिलेदेखि अडान राख्दै आएका पूर्वअर्थमन्त्री रामशरण महतले बैठकमा एमसीसी सम्झौता र त्यसले नेपालका लागि पुर्‍याउने फाइदाबारे जानकारी गराएका थिए ।

 

बैठकमा महतले भनेका थिए, ‘एमसीसी नेपालको हितमा छ । अहिलेसम्म धेरै वटा देशहरूमा एमसीसी चलिरहेको छ । ती देशहरूमा न अमेरिकी सेना पुगेका छन् । न कुनै हस्तक्षेप भएको छ ।’ हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ ।’अमेरिकी दबाब बढ्दै गएपछि सत्तारुढ गठवन्धनले बुधबार बस्ने संसद बैठकमा एमसीसी सम्झौता पेश गरी सकेसम्म पास नै गर्ने योजना बनाएको छ । कतिपय दल र बुद्धिजीवीले भने यो सम्झौता नेपालको हितमा नरहेको भन्दै पास गर्नु नेपालको विदेश नीतिविपरित हुने बताउँदै आएका छन् ।