२०८१ बैशाख १५ , शनिवार

एक्लै बस्ने महिलाको मृत्युको २ वर्षपछि कुर्सीमा बसिरहेका अवस्थामा शव भेटियो

सुनाखरी न्युज/ काठमाडौं – इटलीमा एक ७० वर्षीया महिलाको मृत्युले सबैलाई आश्चर्यमा र दुःखी पारेको छ । एक्लै बस्दै आएकी ती महिला दुई वर्षदेखि मृत अवस्थामा रहेपनि कतै कसैले खोजी नगर्दा उनको शव कुर्सीमा बसिरहेकै अवस्थामा फेला पारिएको छ ।

 

मेरिनेला बेरेटा उनको लोम्बार्डीको घरमा एक्लै बस्थिन् । यस्तोमा शुक्रबार उनको शव कुहिएको अवस्थामा फेला पारिएको हो । उनको घरको बगैँचामा एउटा रुख ढलिरहेकाबारे रिपोर्ट पाएपछि फाइर ब्रिगेडका अधिकारीहरु सोधपुछ गर्न त्यहाँ पुगेका थिए । त्यही क्रममा उनीहरुले बेरेटाको शव बैठक कोठामा एउटा कुर्सीमा बसिरहेको अवस्थामा भेट्टाएका हुन् । उनको मृत्युको कारण भने अझै पत्ता लागेको छैन तर अनुसन्धानमा उनको मृत्यु २०१९ मै भएको पत्ता लागेको छ । अहिलेसम्म पनि उनका कुनै आफन्त अगाडि आएका छैनन् भने उनको परिवारका जिवित सदस्यको खोजी भइरहेको छ ।

 

हाल शहरका मेयरले बेरेटाको अन्त्येष्टि समारोहमा सहभागी हुन सबै स्थानीय वासिन्दालाई निम्ता गरेका छन् । स्थानीय सरकारले नै सबै बन्दोबस्त मिलाउने पनि उनले बताए । उनका अनुसार बेरेटा स्थानीय सामाजिक सेवाबाट सहायता पाउने सूचीमा थिइनन् । त्यसैले उनका कोही आफन्त, कोही परिवार नभएपनि समुदायका मानिसहरुले साथ दिन सक्ने उनले बताएका हुन् । इटालियन मन्त्री एलेना बोनेटीले बेरेटाको ह्दयविदारक एक्लो मृत्युले अत्यन्तै दुःखी बनाएको भनेर फेसबुकमा पोस्ट गरेकी छन् । उनले भनेकी छन्, “मेरिनेला बेरेटासँग जे भयो त्यो अत्यन्तै दुःखदायी कुरा हो । यसले हाम्रो धेरै चित्त दुखेको छ । एकअर्काको ख्याल राख्नु नै परिवार, समुदाय हुनुको अर्थ हो । कोही पनि कहिल्यै त्यसरी एक्लै रहनु नपरोस् । ” सीएनएन