२०८१ बैशाख १४ , शुक्रवार

ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन नेपाल इन्भेष्टर्स फोरमको आग्रह

सुनाखरी न्युज/ काठमाडौं – बैंक तथा वित्तीय संस्थाले गरेको ब्याजदर वृद्धिको निर्णय पुनरावलोकन गर्न सेयर लगानीकर्ताहरूले आग्रह गरेका छन् । ब्याजदर वृद्धिको निर्णयले सेयर बजार प्रभावित भएको भन्दै पुनरावलोकन गर्न लगानीकर्ताहरूले माग गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरमले विज्ञप्ति निकालेर उक्त माग गरेको हो । लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रूपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको व्याजदरको यथाशिघ्र पुनरावलोकन गर्न फोरमले आग्रह गरेको छ । यस्तै, पूँजी बजारको दिगो विकास र विस्तारले मात्रै देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रूपमा व्याजदर बढाएको आरोप लगानीकर्ताले लगाएका छन् ।

 

‘विगतमा लगानीका अन्य क्षेत्रहरु सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखी शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म गृहणीदेखि सेवा निवृत्त व्यक्तिहरूसम्म, ठूला व्यवसायिक घरानादेखि साना व्यवसायिहरूले आफ्नो बचत तथा ऋण रकमलाई सेयर बजारमा लगानी गरेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी सम्पूर्ण लगानीको क्षेत्रलाई असर पर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथाशिघ्र पुनरावलोकन गर्न सम्बन्धित निकायसँग अनुरोध छ ।’पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारी तथा निकाय अझ बढी गम्भिर हुन र यस्तो विषम परिस्थितिमा धैर्य र सुझबुझका साथ लगानी गर्न फोरमले लगानीकर्तालाई आग्रह गरेको छ ।