२०८१ बैशाख १४ , शुक्रवार

सबै दलहरु सहमत भए एमसीसी रोकिँदैन : सभामुख सापकोटा

सुनाखरी न्युज/ काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति भए आफुले एमसीसी नरोक्ने बताउनुभएको छ । एमसीसीका सम्बन्धमा आफु अम्पायर मात्र रहेको उहाँको भनाइ छ ।

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो । सो क्रममा उहाँले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिनुभएको हो ।सोमबारको बैठक विशेष भएको र संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।

 

उहाँले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताउनुभयो । सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सूचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गर्नुभयो । सभामुख सापकोटाले अव संसद् सुचालु हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।