२०८१ जेठ ५ , शनिवार

हिमालय एअरलाइन्स्ले साउदी अरेबिया (दमाम र रियाद) को लागि उडान सुचारु गर्यो

सुनाखरी न्युज/ काठमाडौं – साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भए पछि हिमालय एअरलाइन्स्ले ९ देखि १२ फेब्रुअरी, २०२२ सम्म दमाम र रियादका लागि उडानहरू बन्द गरेको थियो ।

यद्यपि साउदी सिभिल एभिएसनले उडान अनुमति दिए पछि माथि उल्लेखित क्षेत्रहरूका लागि नियमित उडानहरू १३ फेब्रुअरी, २०२२ आइतबारदेखि सुचारु गरिएको छ । ९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण समेत गरिएको छ । यसबाहेक १० फेब्रुअरी, २०२२ पछि यी क्षेत्रहरूका लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ्ग गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्स्को बिक्री कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

सोहि समस्यालाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष, विजय श्रेष्ठले स्पष्ट पार्नुभयो “हामीले यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं र साउदी सिभिल एभिएसनसँग पनि समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।” यसै क्रममा हिमालय एअरलाइन्स्ले यस सम्बन्धमा पूर्व प्रमाणीकरण बिना समाचार सम्प्रेषण नगर्न सम्पुर्ण मिडिया एजेन्सी तथा न्यूज पोर्टलहरुलाई विनम्र अनुरोध गरेको छ ।

 

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।