२०८१ जेठ ४ , शुक्रवार

छरिएर रहेका माओवादी घटकहरुलाई देशका अगाडि आइपरेका समस्यालाई आत्मसाथ गर्दै एकाबद्ध हुन अध्यक्ष दाहालको आग्रह

सुनाखरी न्युज/ काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई देशका अगाडि आइपरेको समस्यालाई आत्मसाथ गर्दै एकाबद्ध हुन आग्रह गरेका छन् ।

 

२७औं जनयुद्धको अवसरमा एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु लागि परेको आरोपसमेत लागाएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुक आम जनसमुदायलाई एकाबद्ध भएर सबैखाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडी बढ्न अपील अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।

 

‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु,’ प्रचण्डले बिज्ञप्तिमा भनेका छन् ।‘माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु,’ प्रचण्डले थप भनेका छन् ।

 

अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा भएका शहिदहरुप्रति श्रद्धाञ्जलीका साथै वेपत्ता, घाइते र उनका परिवारहरुप्रति सम्मान समेत प्रकट गरेका छन् ।