२०८१ जेठ ५ , शनिवार

नाबालकको सुनको मुन्द्रा लुट्ने र लुटेको मुन्द्रा किन्ने २ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – मामा भनी ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका-४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका-६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-८ घर भएका ३० वर्षीय राज कुमार बराइली रहेका छन् ।

 

काठमाडौं महानगरपालिका-६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका-६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २/२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।