२०८१ जेठ ५ , शनिवार

बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ धनुषा – जनकपुर उपमहानगरपालिका-६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका-१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका-८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका-७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका-४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।

 

उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा ती बालक समेत २ वटा बच्चा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।