२०८१ जेठ ५ , शनिवार

केटिएमको विद्युतीय ड्युक कस्तो होला? यस्तो छ फाईदा

सुनाखरी न्युज/ काठमाडौं – अस्ट्रियन ब्रान्ड केटिएम यतिबेला विद्युतीय ड्युक निर्माणमा व्यस्त छ । योसँगै कम्पनीले छिटै विद्युती ड्युक सार्वजनिक गर्ने अनुमान छ।

 

भारतीय अटो वेबसाइट मोटरसाइकल डट कमका अनुसार पियर मोबिलिटीले उक्त सम्बन्धमा एक रिपोर्ट सार्वजनिक गरेको छ। केही समय अघि मात्रै कम्पनीले सन् २०२२ सम्‍ममा विद्युतीय बाइक सार्वजनिक गर्नेबारे घोषणा गरेको थियो। यसभन्दा अघि हस्कभर्नाले पनि विद्युतीय पिलेन सार्वजनिक गर्ने घोषणा गरेको थियो। त्यसैले, केटिएमको पनि विद्युतीय बाइक सार्वजनिक हुनुलाई आश्चर्यको रूपमा लिइएको छैन। रिपोर्टअनुसार विद्युतीय ड्युक ई-पिलेन (विद्युतीय पिलेन) मा भएको प्रविधिमा आधारित हुनेछ।

 

अर्थात् यसमा ५.५ किलोवाटको फिक्स्ड ब्याट्री प्याक हुनेछ। जसले अधिकतम १३.४ बिएचपी पावर जेनेरेट गर्नेछ। इन्धनबाट चल्ने केटिएमको ड्युक १२५ मा जडित इन्जिनले पनि जम्मा १४.५ बिएचपी पावर जेनेरेट गर्छ। त्यस्तै, विद्युतीय ड्युकले एक पटकको पूरा चार्जमा एक सय किलोमिटरको माइलेज दिने अनुमान छ। हस्कभर्नाको विद्युतीय पिलेनले पनि एक पटकको पूरा चार्जमा यत्तिकै माइलेज दिने बताइएको छ। कम्पनीका अनुसार विद्युतीय ड्युक इन्ट्री-लेभल बाइक हुनेछ। त्यस्तै, यो बजारको लागि किफायती हुने अनुमान छ। अहिलेसम्म सार्वजनिक जानकारीअनुसार विद्युतीय ड्युकको बाहिरी डिजाइन पनि स्पोर्टी र स्टाइलिस छ।

 

विद्युतीय पिलेन र विद्युतीय ड्युक भारतीय बजारमा सार्वजनिक हुनेबारे हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन। तर यदी यो भारतीय बजारमा सार्वजनिक भयो भने यसको उत्पादनको जिम्मा बजाज मोटर्सले लिनेछ। बजाजले केही समय अघि मात्रै विद्युतीय सवारी साधन निर्माणको लागि महाराष्ट्रमा छुट्टै उत्पादन फ्याक्ट्री विस्तार गरेको छ। यो प्लान्ट बनाउन मात्रै कम्पनीले भारु तीन सय करोडको लगानी गरेको थियो। एजेन्सी