२०८० चैत्र १६ , शुक्रवार

‘भ्यालेन्टाइन डे’ मा २ लाख ३० हजार गुलाब आयात

सुनाखरी न्युज/ काठमाडौं – प्रणय दिवस अर्थात‘भ्यालेन्टाइन डे’मा खपत हुने ९० प्रतिशत गुलाबको फूल भारतबाट आयात हुने जनाइएको छ ।

 

नेपालको उत्पादनले माग नधानेपछि प्रणय दिवसलाई चाहिने गुलाबको फूल भारतबाट आयात गर्नु परेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको हो । एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस पटकको प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबको फूल खपत हुने अनुमान गरेको बताए । उनले यसमध्ये ९० प्रतिशत फूल भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको समेत बताए ।‘यो वर्षको जाडोयाममा धेरै चिसो बढ्यो । निरन्तर पानी पर्दा धेरै बोट मर्यो । बचाइएका बोटबाट पनि कमसल फूल फुल्यो,‘जसकारण, यो पटक ९० प्रतिशत फूल आयात गर्नुपर्ने स्थिती बन्यो ।’ यसका साथै, गत वर्षको लकडाउनमा समेत धेरै गुलाबको बोट मरेकाले यसपटक उत्पादन घट्दा आयात बढ्यो।

 

गत वर्षको भ्यालेन्टाइनमा करिब १ लाख ८० हजार वटा गुलाबका फूल खपत भएको एसोसिएशनको आँकलन छ । नेपालमा ७०० भन्दा बढी व्यवसायीले गुलाब खेती गर्दै आएका छन् । उनीहरूबाट उत्पादित गुलाबको फूलले भ्यालेन्टाइन बाहेकको माग धान्दै आएको अध्यक्ष तामाङले बताए । भ्यालेन्टाइन बाहेकको समयमा दैनिक १० हजार गुलाबको फूल खपत हुँदै आएको छ । जुन माग स्वदेशी उत्पादनले नै धान्दै आएको छ । यद्यपी, भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा विदेशबाट न्यून मात्रामा गुलाबको फूल भित्रिएको छ । यस अवधिमा जम्मा एक लाख ५८ हजार रुपैयाँको फूल भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।