२०८१ जेठ ५ , शनिवार

यस्तो छ एक पटकको पूरा चार्जमा ६२२ किलोमिटर रेन्ज दिने विद्युतीय एमजी जेडएस

सुनाखरी न्युज/ काठमाडौं – एमजी मोटर इन्डियाले सन् २०२२ को पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दैछ। कम्पनीले परिमार्जित र अद्यावरण गरिएको नयाँ विद्युतीय जेडएस सार्वजनिक गर्ने भएको हो।

 

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार नयाँ विद्युतीय एमजी जेडएस सन् २०२२ को मार्च महिनामा सार्वजनिक हुने अनुमान छ। तर कम्पनीले भने हालसम्म यसको सार्वजनिक हुने मिति तोकेको छैन। बेलायती अटोनिर्माण कम्पनी एमजीले बेलायती बजारको लागि भने यो नयाँ विद्युतीय जेडएसको मूल्य तोकिसकेको छ। विद्युतीय जेडएस २०२२ को सुरूवाती बजार मूल्य २८ हजार १९० पाउन्डदेखि ३४ हजार ६९० पाउन्ड तोकिएको छ। यो भनेको नेपाली ४५ लाखदेखि ५७ लाख हो। बेलायतमा यो विद्युतीय जेडएस विभिन्न ६ ट्रिममा उपलब्ध छ। भारतमा यो गाडी सार्वजनिक भएसँगै यसले बजारमा उपलब्ध टाटाको विद्युतीय नेक्सन र हुन्डाईको विद्युतीय कोनासँग प्रतिस्पर्धा गर्नेछ।

 

नयाँ विद्युतीय जेडएस २०२२ को डिजाइनमा कम्पनीले परिवर्तन गरेको छ। यसको अगाडि भागमा पहिले जस्तो ग्रिल नभई क्लोज्ड प्यानल छ। त्यस्तै, यसको रिअर बम्पर पनि अद्यावरण गरिएको छ। गाडीमा एलइडी प्रोजेक्टर हेडल्याम्प र इन्टिग्रेटेड एलइडी डिआरएल छ। जेडएस इभी सेतो, पर्ल, निलो, सिल्भर र रातो गरी पाँच विभिन्न रंगमा उपलब्ध हुनेछ। यसको अलोय ह्विल डिजाइनमा पनि केही परिवर्तन पाउन सकिन्छ। यसमा १७ इन्चको अलोय ह्विल पाउन सकिन्छ। गाडीको क्याबिन पनि पहिलेको तुलनामा फराकिलो र संशोधित छ। यसमा १०.१ इन्चको कलर टचस्क्रिन छ। यसमा वायरलेस मोबाइल फोन चार्जिङ सुविधा र अडेप्टिभ क्रुज कन्ट्रोल विशेषता पनि समावेश गरिएको छ।

२०२२ विद्युतीय एमजी जेडएस ५१ किलोवाट र ७३ किलोवाट गरी दुई ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ। ७३ किलोवाटको वाटर-कुल्ड लिथियम आयान ब्याट्री प्याक जडित जेडएसले एक पटकको पुरा चार्जमा ६ सय २२ किलोमिटरको रेन्ज दिन्छ। त्यस्तै, ५१ किलोवाटको ब्याट्री जडित जेडएसले भने एक पटकको पुरा चार्जमा ३३३ किलोमिटरको माइलेज दिन्छ। यो एसयुभीले फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्छ जसका कारण जम्मा एक घण्टा चार्ज गर्दा गाडी ८० प्रतिशतसम्म चार्ज हुन्छ। नेपाली बजारमा पनि एमजीका गाडीहरू लोकप्रिय छन्। नेपालमा एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स हो। कम्पनीका अनुसार बजारमा यसको जेडएस मोडल निकै रुचाइएको छ। नेपालमा यो पहिलो पटक २०७६ साल मंसिरमा भित्रिएको थियो। कम्पनीका अनुसार अहिले धेरै ग्राहकहरू नयाँ २०२२ विद्युतीय जेडएसको प्रतिक्षामा समेत छन्।  एजेन्सी