२०८१ बैशाख १२ , बुधवार

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जना ‘सर्टलिस्टेड’ (सूचिसहित)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितापत्र बोर्डको कार्याकारी अध्यक्षका लागि ५ जनाको नाम पहिलो चरणमा छनोट भएको छ । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जना छनोट गरेको हो ।

मन्त्रिस्तरीय निर्णयबाट बोर्ड अध्यक्ष नियुक्तको लागि सिफारीस समिति गठन भएको थियो । सो समतिले बोर्ड अध्यक्षको लागि आवेदन पनि मागेको थियो । सिफारिस समितिको सोमबार बसेको  बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको हो ।

छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको स्रोतले बताएको छ । छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । उक्त पदका लागि उल्लेखित ५ जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अम्गाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

आवेदन दिने समय सकिएपछि समिति गठन प्रक्रिया नै कानुन संगत नभएको भनेपछि मन्त्री परिषदवाट निर्णय गराई समितिलाइ कानुनी मान्यता दिइ पुन आवेदन खुला गरेको थियो । दोस्रो चरणको आवेदन माग गर्दा १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो ।

नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्ष पदका लागि १५ दिन अघि सूचना जारी गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।