२०८१ बैशाख ८ , शनिवार

एक्स्पो २०२० दुबईमा नेपाल दिवस सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – दुबईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस हर्षोल्लासका साथ मनाइएको छ । माघ २० गते सम्पन्न सो दिवसमा एक विशेष औपचारिक कार्यक्रमका बीच राष्ट्रिय गानका साथ राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने त्यहाँका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलका नेता त्यहाँका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी सहायक मन्त्री युसुफ अल होसानीले सभालाई सम्बोधन गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध एक्स्पोको कारणले थप उचाई लिएको बताउनुभएको थियो ।

 

दुवैले संयुक्त अरब इमिरेट्सको आर्थिक विकासमा त्यहाँ कार्यरत झन्डै साढे दुई लाख नेपाली कामदारहरुको योगदानको चर्चा गर्नु भएको थियो । नेपाल दिवसको प्रारम्भमा नेपाली प्रतिनिधिमण्डल तथा दुबईमा कार्यरत सयौं नेपाली समुदायको सहभागितामा सो एक्स्पोका लागि नेपाल सरकारबाट नियुक्त नेपाली आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आइ.इ.जी) ले नेपालबाट तयार गरी लगेको मच्छेद्रनाथको आकर्षक प्रतिमूर्तिका साथ मच्छेन्द्रनाथको सानो कदको रथ तानेर दुबईमा पानी परोस् भन्ने प्रार्थना गर्दै नाचगान बाजा गाजाका साथ झाँकी प्रस्तुत गरिएको थियो । दुबईमा रहेका नेपाली कलाकारहरु लगायत सांस्कृतिक संस्थानबाट गएका कलाकारहरुले नेपाल दिवसमा प्रस्तुत गरेका हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक नाचगान संगीत एक्स्पोमा निकै रुचाइएको नेपालका राष्ट्रिय संयोजक तथा प्याभिलियन डाइरेक्टर श्री विनायक शाहले बताउनुभयो । सो एक्स्पोका लागि नेपाली आयोजक इम्प्लिमेन्टिङ ग्रूपका अध्यक्ष तथा डेपुटी कमिस्नर जनरल अमृत शाक्यले नेपाली तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलहरुलाई नेपाल मण्डपमा स्वागत गर्दै प्रमुख विषयवस्तुहरुबारे जानकारी गराउनुभयो ।

 

२०२१ को अक्टोबर १ मा कोरोनाका कारण एक वर्ष ढिलो गरी शुरु भएको एक्स्पो २०२० दुबईमा विश्वका १९२ राष्ट्र तथा ५० भन्दा बढी अन्तर्राष्ट्रिय संघ संगठनहरुको प्रतिनिधित्व छ । ‘आपसी सम्पर्क र सम्बन्धबाट समुन्नत भविष्य’ को नारा लिएर मार्चसम्म सञ्चालित ६ महिने सो एक्स्पोमा नेपाली कला कौशल संस्कृति झल्काउने आकर्षक नेपाली मण्डपले हाल सम्म झन्डै १७ लाख दर्शकलाई स्वागत गरिसकेको आयोजकले जनाएका छन् ।युरोप, अमेरिका र एसियालाई जोडेर छोटो समयमा दुबईले हासिल गरेको आर्थिक चमत्कार जस्तै भारत र चीनको बीचमा रहेको नेपालमा पनि जलविद्युत्, पर्यटन, आइटी, कृषि, वन र खनिजजन्य उत्पादनहरुको युवा जनशक्तिको उपयोगबाट अपार आर्थिक लाभ लिन प्रत्यक्ष वैदेशिक लगानी तथा व्यापारका लागि नेपाल मण्डपले विश्व समुदायलाई आह्वान गर्दै प्रदर्शनी तथा प्रवद्र्धनका नियमित कार्यहरु गर्दै आएको छ । सो एक्स्पोमा रहेको नेपाल मण्डपको संचालन तथा व्यवस्थापन इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको छ ।

 

एक्स्पो २०२० दुबईमा सम्पन्न नेपाल दिवसका सहभागी नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूत, राजदूतावासका अधिकारीहरु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकारीहरु, एक्स्पोका लागि नेपाली आयोजक संस्थाका पदाधिकारीहरु रहेका थिए । साथै सांस्कृतिक संस्थानका कलाकारहरु, युएईमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र सयौंको संख्यामा त्यहाँ कार्यरत आ–आफ्नो मौलिक भेषभुषामा सुसज्जित नेपालीहरु सहभागी रहेका थिए ।