२०८० चैत्र १६ , शुक्रवार

दाहाल सचिवालयको स्पष्टीकरण : परिमार्जनविना एमसीसी पारित गर्नु हुँदैन भन्नेमा माओवादी केन्द्र दृढ

सुनाखरी न्युज/ काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लेखेको पत्रबारे एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले स्पष्टीकरण दिएको छ ।

 

एमसीसी अनुमोदनका लागि ४÷५ महिना समय माग गर्दै लेखेको पत्र सार्वजनिक भएपछि दाहाल चर्को दबाबमा पर्नु भएको छ । द्वैध चरित्र देखाएको भन्दै आलोचना समेत भएको छ । दाहालको निजी सचिवालयले भने पत्रको बचाउ गरेको छ । आइतबार साँझ स्पष्टीकरण दिँदै दाहालको निजी सचिवालयले – ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको जनाएको छ । पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको प्रचण्डको निजी सचिवालयले दावी गरेको छ ।

 

एकातिर एमसीसीबारे जनस्तरसम्म विरोध र दबाब रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले समेत परिमार्जनविना पारित गर्न नसकिने निचोड प्रस्तुत गरेकाले गठबन्धनभित्रै एउटै मत बनिहाल्ने अवस्था नभएकाले पनि समय माग गर्नु परेको दाहालको सचिवालयको स्पष्टीकरण छ । ‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,’ दाहालको निजी सचिवालयले भनेको छ । साथै परिमार्जनविना एमसीसी पारित गर्नु हुँदैन भन्नेमा माओवादी केन्द्र दृढ रहेको बताएको छ ।